बेच्न मात्रै होइन, बाइक बनाउन पनि तीव्र प्रतिस्पर्धा

सरकारले तयारी बाइक ल्याउनुभन्दा आवश्यक पर्ने कच्चा पदार्थ ल्याउन २५ प्रतिशत छुट दिएको छ । त्यही भएर उद्योगीले तयारी बाइक ल्याउनुभन्दा नेपालमै बाइक बनाउने योजना अघि सारेका हुन् ।

काठमाडौं । अग्रणी व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनले नेपालमै बजाज मोटरसाइकलको उत्पादन सुरु गरेपछि प्रतिस्पर्धी कम्पनी ज्योति समूह, मोरङ अटो वर्कसप (एमएडब्ल्यू) र शङ्कर ग्रुपले पनि नेपालमै बाइक बनाउने भएका छन् ।

गोल्छा अर्गनाइजेसनले नेपालमा पहिलो पटक बजाजका हरेक सिरिजका मोटरसाइकल एसेम्बल्ड गर्न थालेपछि होन्डाको आधिकारिक विक्रेता ज्योति समूहले पनि नेपालमा होन्डाको प्लान्ट लगाउने भएको हो ।

त्यसैगरी, मोरङ अटो वर्कसप (एमएडब्ल्यू) ले पनि यामाहाको प्लान्ट राख्ने तयारीमा जुटेको छ । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता शङ्कर ग्रुपले पनि नेपालमा प्लान्ट स्थापना गर्ने कार्य अघि बढाएको छ ।

यी चार कम्पनीबीच मोटरसाइकल बेच्न पनि अत्यन्तै ठूलो प्रतिस्पर्धा हुन्छ । कहिले कुन कम्पनीको बाइक बढी बिक्री हुन्छ भने, कहिले कुनको । अहिले बजारमा सबैभन्दा बढी बाइक कुद्ने पनि यिनै कम्पनीका हुन् ।

सरकारले तयारी बाइक ल्याउनु भन्दा आवश्यक पर्ने कच्चा पदार्थ ल्याउन २५ प्रतिशत छुट दिएको छ । त्यही भएर उद्योगीले तयारी बाइक ल्याउनुभन्दा नेपालमै बाइक बनाउने योजना अघि सारेका हुन् ।

स्रोतका अनुसार शङ्कर ग्रुपले प्लान्ट स्थापनाको कार्य अघि बढाइसकेको छ । शङ्कर ग्रुपले नवलपरासीमै प्लान्ट राख्ने योजनाका साथ काम गरिरहेको छ । त्यसैगरी, ज्योति समूह जग्गाको खोजीमा लागेको छ ।
सुरुमा वीरगन्ज राख्ने योजना बनाएपछि पछिल्लो समय वीरगन्जको व्यावसायिक वातावरण गएकाले भैरहवा क्षेत्रमा नयाँ प्लान्ट लगाउने मनस्थितिमा ज्योति समूह पुगेको छ ।

स्रोतका अनुसार अहिले गोल्छा अर्गनाइजेसनले नेपालमा कुद्ने हरेक सिरिजका बाइक बनाइरहेको छ । नयाँ लटका सबै बाइक नेपालमै बनेका हुन् । ज्योति समूहले पनि पहिलो चरणमा दिनको ३०० थान मोटरसाइकल बनाउने बताएको छ । त्यसैगरी, शङ्कर ग्रुपले पनि २०० देखि ३०० थान मोटरसाइकल बनाउने योजना बनाएको हो ।

प्रत्येक महिना भारतबाट बजाजका आधिकारिक प्राविधिक आएर नेपालमा उत्पादन भएको बाइकको गुणस्तर परीक्षण गर्छन । र उनीहरुले नेपालमा स्थायी रुपमै उत्पादन पछिका बाइक परीक्षण गर्न प्राविधिक राखेका छन् । उनीहरुको परीक्षण सफल भएपछि मात्रै बाइक बजारमा जान्छ ।

जापानीजकै कारण नेपालमा एसेम्बल्ड प्लान्ट लाग्न ढिला

सुरक्षाको मामलामा जापानीज एकदमै कडा छन् । होन्डाको केन्द्रीय कार्यलयबाट धेरै पटक प्राविधिक नेपालमा आएका छन्, । उनीहरुले नेपालको हावापानीलाई समेत परीक्षण गरेका छन् । ज्योति समूहले पटक पटक ‘कन्भिन्स’ गरेपछि होन्डाले नेपालमा प्लान्ट राख्नका लागि अनुमति दिएको हो ।

१२०० इन्जिनियरलाई रोजगारी

अहिले गोल्छा अर्गनाइजेसनले हुलास अटोक्राफ्ट कम्पनीबाट मोटरसाइकल बनाइरहेको छ । अहिले हुलास अटोक्राफ्टमा ३०० जना भन्दा बढी इन्जिनियर छन् । यदि थप तीन ओटा कम्पनीले बाइक उत्पादन गर्ने प्लान्ट लगाए भने, १२ सय इन्जिनियरले रोजगारी पाउँछन् । त्यसबाहेक ‘अनस्किल मेनपावर’ पनि रोजगारी पाउने कम्पनीले जनाएको छ ।

सरकारी सुविधाको आश

सरकारले अहिले भन्सारमा २५ प्रतिशत छुट दिएको छ । त्यतिले मात्रै पुग्दैन । अहिले नेपालमै बाइक बनाउनु र भारतबाट बाइक आयात गर्नु पैसाका हिसावले कुनै अन्तर छैन । तर, नेपालमा ठूलो सङ्ख्यामा रोजगारी पाएका छन्, त्यो चै उपलब्धी हो ।

तर, सरकारले उद्योगीलाई प्रोत्साहन गर्न केही नयाँ प्याकेज ल्याउनुपर्ने उद्योगीहरु बताउँछन् । सरकारले उद्योगलाई प्रोत्साहन गर्न भविष्यमा केही प्याकेज ल्याउने आशमा होन्डाको प्लान्ट राख्न लागेको ज्योति समूहका प्रवन्ध निर्देशक शौरभ ज्योतिले जानकारी दिए ।

‘अहिले सरकारले दिएको छुट पर्याप्त छैन्,’ उनले भने, ‘आगामी वर्षको बजेटमा केही छुटका प्याकेज आउने आशमा नयाँ उद्योग लगाउने योजना बनाएका हौ ।’