आधा अर्ब लगानीमा गोदावरीमा सुविधा सम्पन्न रिसोर्ट

राजधानी नजिकै रहेको पर्यटकीय स्थल गोदावरीमा आधा अर्ब लगानी गरेर सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । गोदावरी फरेष्ट होटल प्रालिद्धारा गोदावरी रिसोर्ट निर्माण भइरहेको हो ।

काठमाडौं । भ्रमण वर्ष २०२० मनाउने घोषणा भएसँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेसँगै राजधानीभित्र र राजधानीबाहिर अर्बौ रुपैयाँ लगानी गरेर होटल र रिसोर्ट निर्माण भइरहेका छन् ।

राजधानी नजिकै रहेको पर्यटकीय स्थल गोदावरीमा आधा अर्ब लगानी गरेर सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । गोदावरी फरेष्ट होटल प्रालिद्धारा गोदावरी रिसोर्ट निर्माण भइरहेको हो ।आगामी २०२० भित्रमा सञ्चालनमा ल्याइसक्ने गरी निर्माण भइरहेको सो रिसोर्टमा ६४ ओटा कोठाहरु रहनेछन् भने २ ओटा स्विमिङ्ग पुल र ३ ओटा कन्फ्रेन्स हल रहने सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए ।

गोदावरी राजधानी नजिकको उत्कृष्ठ गन्तव्यको रुपमा परिचित रहेको छ । त्यहाँको मौलिकतालाई झल्को दिने गरी रिसोर्ट निर्माण भइरहेको सञ्चालक श्रेष्ठको भनाई छ । ५८ हजार बर्ग मिटर क्षेत्रफलमा फैलिएको सो रिसोर्ट पूर्णरुपमा पारिवारिक हुने छ । सातदोवाटोबाट रिसोर्टसम्मको दुरी ९ किलोमिटर रहेको छ ।

गोदावरीको मुख्य विषेशता त्यहाँ रहेको गोदावरी फूल हो । त्यहि फुल हेर्नका लागि वर्षेनी धेरै पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । यस्तै पदयात्राका लागि पनि त्यस क्षेत्रबाट विभिन्न ठाउँमा जान सकिन्छ । हाल सरकारले गोदावरीको पर्यटन विकासका लागि भ्यू टावर निर्माण गर्ने तयारी गरिरहेको छ ।

गोदावरीमा हाल भ्यू भृकुटी र गोदावरी भिलेज रिसोर्ट सञ्चालनमा रहेको छ । सिमित होटल रहेको कारण पर्यटकहरुलाई चाहे जस्तो सेवा सुविधा नपाइरहेको अवस्थामा गोदावरी रिसोर्टले थप सुविधा दिने सञ्चालकहरुको विश्वास रहेको छ । सो रिसोर्टको संचालक समितिको अध्यक्षमा कल्याण जोशी, मदनलाल जोशीलगाएत रहेका छन् ।